काठमाडौं- गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले प्राप्त गरेको वैदेशिक सहायतामध्ये २१.२ प्रतिशत रकम वार्षिक बजेट प्रणालीबाहिरबाट खर्च भएको देखिएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको 'विकास साझेदारी प्रतिवेदन-२०२०' मा यस्तो तथ्यांक देखिएको हो।
उक्त प्रतिवदेनअनुसार गत आर्थिक वर्षमा नेपालले द्विपक्षीय तथा बहुपक्षीय साझेदारहरुबाट कूल दुई अर्ब ३० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको थियो। उक्त सहायताको रकममध्ये २१.२ प्रतिशत अर्थात् ४३ करोड २६ लाख अमेरिकी डलर (५१ अर्ब ७४ करोड रुपैयाँ) बराबर रकम रातो किताबभन्दा बाहिरबाट खर्च भएको देखिएको हो। गत आर्थिक वर्षमा नेपालले प्राप्त गरेको कूल विदेशी सहायता रकमको ७८.४ प्रतिशत रकममात्रै वार्षिक बजेट प्रणालीमार्फत खर्च भएको देखिन्छ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालले पाएको द्विपक्षीय तथा बहुपक्षीय सहयोग
गत आर्थिक वर्षमा नेपालले दुई अर्ब ३० लाख (२००३ मिलियन) अमेरिकी डलर बराबरको विकास सहायता प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७५/७६ मा १५७८ मिलियन अमेरिकी डलर बराबरको विकास सहायता पाएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपालले पाएको सहायता २१.२ प्रतिशतले बढी हो।
यसरी प्राप्त भएको सहयोगमा ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहयोगका रुपमा नेपालले प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ।
गत आर्थिक वर्षको नेपालको कूल वार्षिक बजेटमा विदेशी सहायता रकमको हिस्सा ३६.९ प्रतिशत बराबर रहेको पनि प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा यस्तो हिस्सा १५.२ प्रतिशत बराबरमात्रै थियो। वैदेशिक सहायतमा ऋणको हिस्सा बढ्नुलाई बहुपक्षीय विकास साझेदार र संस्थाहरूबाट सहुलियतपूर्ण ऋण प्राप्त गर्नका लागि नेपालको योग्यतालाई प्रतिबिम्बित गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।