काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा हरेक दिन नयाँ रेकर्ड कायम हुन थालेको छ।
यो साता कारोबारको पहिलो दिन आइतबार २५.७१ अंकले बढेर २६५७.६१ को ऐतिहासिक विन्दुमा पुगेको परिसूचक सोमबार १.१३ अंकले बढेको थियो। त्यस्तै आज मंगलबार परिसूचक १५.७२ अंकले बढेर २६७४.४६ अंकमा कायम भएको छ। यो हालसम्मकै उच्चतम विन्दु हो।
आज २१३ वटा कम्पनीको एक करोड ६१ लाख आठ हजार कित्ता सेयर ५१ लाख ७५३ पटक खरिद-बिक्री हुँदा सात अर्ब ४७ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
परिसूचक बढे पनि व्यापार बिमा समूहको उपसूचकमा भने ठूलो अंकको गिरावट देखिएको छ। आज व्यापार समूह ४३२.२५, निर्जीवन बिमा समूह २८७.७६ र जीवन बिमा समूह १९१.४२ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह ०.५९ र वित्त समूह ३.३६ र अन्य समूह ३.९ अंकले घटेको छ। अघिल्लो साता अजोड इन्स्यारेन्स कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्न गरेको प्रस्ताव विवादमा परेपछि अरु इन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा पनि त्यसको असर देखिएको अनुमान गरिएको छ।
आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक २०५.७९ अंकले बढेको छ। त्यस्तै विकास बैंक २९.९७, जलविद्युत ११४.०५, उत्पादन १८३.९१, लघुवित्त ६४.१९ र लगानी समूह २.७२ अंकले बढेको छ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ३९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ९४ हजार ९०० कित्ता सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै युनाइटेड मार्दी हाइड्रोपावर लिमिटेड, युनिभर्सल पावर कम्पनी, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र चन्द्रागिरी हिल्सका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १० प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।