फाइल तस्बिर
काठमाडौं- १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकको शिलान्यास गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले 'तमासा'को संज्ञा दिएका छन्।
आइतबार आफ्नो पक्षको काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले विकासको नाममा तमासा गरिरहेको आरोप लगाए।
'यतिकै स्वीच थिचेर १६५ वटा निर्वाचन क्षेत्रमा एकै दिन सडकको शिलान्यास! कहीँ हुन्छ? संसारमा कहीँ भएको छ? डीपीआर भएको छैन, कति खर्च लाग्छ, लागतको कुरा छैन। त्यसका निम्ति आधार बनाउनुपर्छ। बल्ल शिलान्यास हुन्छ। बालुवाटारमा बसेको छ, स्वीच थिचिदियो,' नेपालले भने।
नेपालले ती सबै ठाउँमा नाम लेखाउँला भनेर ओलीले एकैपटक शिलान्यास गरेको बताए। 'नाम लेख्न कति रहर रहेछ। फोटो टाँस्ने कति रहर रहेछ। आफ्नो कोठामा, आफ्नो घरमा झुन्ड्याए भइहाल्यो नि। किन सबैलाई दुःख दिनु बेकारमा। त्यसैले उहाँको तमासा मात्रै हुन्। यो तमासाको कुनै अर्थ छैन,' वरिष्ठ नेता नेपालले भने।
उनले जनताले कुरा होइन, काम चाहने बताए। 'जनता कुरामा विश्वास गर्दैनन्, परिणाम हेर्न चाहन्छन्। मदन भण्डारीले भन्नुभएको थियो- कुराले चिउरा भिज्दैन। चिउरा भिजाउनका लागि दूध नै चाहिन्छ, कि दही। जनताको विश्वास जित्न कुराले पुग्दैन। काम गर्ने विधि व्यवहार चाहिन्छ। अनि जनताको विश्वास जित्न सकिन्छ,' नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।