काठमाडौं- सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गरेको छ। लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षासम्बन्धी व्यवस्था परिवर्तन गर्दै केही सहज बनाइएको हो।
यसअघि शतप्रतिशत अंक ल्याएर पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य हुनेछ। तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने अब ८० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि निर्देशिका स्वीकृत गरिसकेको छ। उक्त कार्यविधि निर्देशिक गएको चैत ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले स्वीृकत गरेका हुन्। मन्त्रालयबाट नयाँ निर्देशिक स्वीकृत भएसँगै यातायात व्यवस्था विभागले आगामी जेठ १ देखि कार्यान्वयनमा ल्याउने गरि तयारी थालिएकाे यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए।
नेपाल लाइभले गएको पुस २८ गते लाइसेन्सको नयाँ मापदण्ड बन्न लागेको समाचार प्रकाशित गरेको थियो। सरकारले स्वीकृत गरेको सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यान अर्थात के, ए र बी क्याटागोरीका सवारीमा लागु हुनेछ।
लिखितका लागि ५ सय प्रश्न वेबसाइटमै
नयाँ व्यवस्थाअनुसार अब लिखित परीक्षाका लागि सोधिने प्रश्न विभागको वेबसाइटमै राख्ने भएकाे छ। अर्थात, लाइसेन्स लिनका लागि दिइने लिखित परीक्षाको प्रश्न आउट नै हुनेछ। विभागले लिखित परीक्षाका लागि ५ सय प्रश्नको संग्रह प्रकाशन गर्नेछ। त्यही संग्रहबाट मात्र लिखित परीक्षाको प्रश्नपत्र तयार हुनेछ।
१०० पूणाङ्कको २० वटा प्रश्न हुनेछ। सबै प्रश्नको अंकभार पाँच हुनेछ। यी प्रश्नबाट ८० अंक ल्याउनेले लिखित परीक्षा उत्रिण गर्नेछन्।
प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ। परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा तीन अंक घट्नेछ। हेलमेटका लक नलगाई सवारी चलाएमा चार अंक र अस्वाभाविक गतिमा वा असम्यमित रूपमा सवारी चलाएमा तीन अंक घट्नेछ।
घुमाउरो आठको अंकभार २० अंक छ। जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ। यति हुँदैमा परीक्षार्थी फेल हुनेछैन। घुमाउरो आठमा एकपटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँमा टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ।
साँघुरो फलेकको अंकभार १० रहेको छ। यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ। यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाई पार गर्नुअगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ। त्यस्तै, यू टर्नको अंकभार १० रहेको छ। टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। यू टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ।
ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ। ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ। स्पिड ब्रेकर वा हडल्सको अंकभार १५ रहेको छ। स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ। स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ।
यसबाहेक र्याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ। उकालोमा कुनै गल्ती भए फेल हुनेछ। उकालोमा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ।
रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ। यसरी विभिन्न क्याटागोरीमा अंकभार निर्धारण गरिएको र त्यसमध्ये ७० अंक ल्याउनेले लाइसेन्स पाउनेछन्।
सरकारले स्वीकृत गरेको निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफ्नै सवारीसाधन लैजान पाउने छन्। हाल कायम रहेको व्यवस्थामा आफ्नो सवारीले ट्रायल दिन पाइदैन। आफ्नै सवारी पनि तोकिएको मापदण्ड अनुसार हुनुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।