काठमाडाैं- इथियोपियाको ओरोमिया प्रान्तमा अज्ञात हतियारधारी समूहले गरेको आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ।
मंगलबार राति वेस्ट वोलेगा क्षेत्रमा रहेकाे अम्हारा समुदायमाथि उक्त आक्रमण भएको हो। राति नौ बजे आएको हतियारधारी समूहले मानिसहरुलाई एकै ठाउँमा भेला गराई गोली चलाइएकाे अलजजिराले जनाएकाे छ।
यो आक्रमण ओरोमियाको ओरोमो लिबरेसन आर्मी (ओएलएफ)ले गरेको हुन सक्ने आशंका गरिएकाे छ। ओएलएफ ओरोमियाको विपक्षी पार्टी हो। सन् २०१८ मा अबिय अहमद प्रधानमन्त्री बनेसँगै यो पार्टीमाथि इथियोपियामा लगाइएको प्रतिबन्ध हटेको थियो।
पछिल्लो समय धार्मिक हिंसा इथियोपिया सरकारको लागि चुनौती बनेको छ। गत मार्चमा ओएलएफले तीन सय अम्हारा समुदायका मानिसको हत्या गरेको थियाे।
ओरोमो इथियोपियाको सबैभन्दा ठूलो धार्मिक समुदाय हो भने अम्हारा दोस्रो ठूलो समुदाय हो। यी दुई समुदायको बसोबास रहेको ओरोमिया र अम्हारा प्रान्तको सीमा पनि जोडिएको छ।
पछिल्लो केही समययता अर्को प्रान्तमा बस्ने धार्मिक समुदायका मानिसमाथिको आक्रमण बढ्दो क्रममा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।