काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। उक्त कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको सूचना लुकाएपछि नेप्सेले अघिल्लो हप्ता स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको थियो।
नेप्सेका अनुसार किसान लघुवित्तलाई सचेत गराउँदै बिहीबारबाट सेयर कारोबार फुकुवा गरिएको छ।
उक्त लघुवित्त कम्पनीको सञ्चालक समितिको चैत ६ गते शुक्रबार बसेको बैठकले १ बराबर १ (१:१) अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। तर, सञ्चालक समितिले उक्त निर्णय संशोधन गर्दै त्यसलाई माइन्युटबाट हटाएको थियो। यसरी हकप्रद सेयर जारी गर्न लागेको बारे अनावश्यक हल्ला फैलाएर कम्पनीले आफ्नो सेयर मूल्य बढाउन खोजेको भन्दै नेप्सेले स्पष्टीकरण सोध्नुका साथै कारोबार रोक्का गरेको थियो।
किसान लघुवित्त कम्पनीले ‘मानवीय त्रुटिका कारण हकप्रद सेयरसम्बन्धी सूचना प्रकाशित भएको र कम्पनीको सेयर कारोबारमा प्रभाव पार्ने गलत मनासाय नराखेको’ स्पष्टीकरण दिएपछि कारोबार फुकुवाको निर्णय गरेको नेप्सेको भनाइ छ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सम्बन्धित कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेलाई जानकारी गराइसक्नुपर्छ। तर, किसान लघुवित्तको सञ्चालक समितिले हकप्रद जारी गर्न लागेको निर्णय नेप्सेलाई जानकारी नगराएपछि चैत १० गतेदेखि उक्त कम्पनीको कारोबार रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।