काठमाडाैं- फेसबुकले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो उनकी बुहारी लारा ट्रम्पको पेजबाट हटाएको छ।
सामाजिक सञ्जाल फेसबुकले गत जनवरीमा वासिङटनस्थित संसद् भवन (क्यापिटल बिल्डिङ)मा ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेपछि उनलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाएको थियो।
फक्स न्यूजका नयाँ योगदानकर्ता लारा आफैंले ट्रम्पसँग लिएको अन्तर्वार्ताको एक भिडियो आफ्नो पेजमा पोस्ट गरेकी थिइन्।
पछि उनले फेसबुकबाट प्राप्त एक इमेलको स्क्रिनसट पोस्ट गरेकी छिन् जसमा उनलाई प्रतिबन्धको चेतावनी दिइएको छ।
'डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू ब्लक गरी राखिए बमोजिम अन्य खातामा पोस्ट गरिएका ट्रम्पको आवाजसहितका थप सामग्रीहरु हटाइनेछ र त्यस्ता खातामा थप सीमितता लागू हुनेछ,' केटलिनको नामबाट एक इमेलमा लेखिएको छ।
ट्रम्पका छोरा एरिकसँग विवाह गरेकी लाराले भिडियो प्लेटफर्म रुम्बलमा आफ्नो अनलाइन शो 'दी राइट भिउ' का लागि ट्रम्पसँग लिएको अन्तर्वार्ता फेसबुक पेजमा लिंक गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।