काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुले आफै बोर्डिङ पास तथा ब्यागेज सेल्फ चेकिङ गर्न सक्ने प्रविधि जडान भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारी अनुसार यात्रुलाई सहजता हुने र प्राधिकरणको आय बढने गरी नयाँ प्रविधि जडान गरेको जानकारी दिए।
प्राधिकरणले यस अघि प्रयोग गर्दै आएको ‘सिताज’ प्रविधिको ठाउँमा आफ्नै लगानीका ‘कप्स’ प्रविधि जडान गरेको हो। ‘सिताज’ प्रविधिसँग आय सेयर गर्दै आएको प्राधिकरणले अब सबै आय आफ्नो मात्रा बनाएको छ।

यस प्रविधिको प्रयोगबाट यात्रुले साझा काउन्टर सेवा लिन पाउनेछ। तिवारीका अनुसार यात्रुले जुनसकुै काउन्टरबाट जुन सुकै एयरलाइन्सको टिकट भए पनि बोर्डिङ तथा ब्यागेज चेकको काम गर्न पाउने छन्।
‘अहिलेसम्म विमानस्थलमा जुन एयरलाइन्सको टिकट हो त्यही एयरलाइन्सको काउन्टरमा गएर बोर्डिङ पास तथा ब्यागेज चेक गर्नु पर्ने अवस्था थियो,’ विमानस्थल प्रमुख तिवारीले भने, ‘तर, अब सबैले साझा काउन्टर प्रयोग गर्न पाउने भएको छन्।’
साथै यात्रुले सेल्फ बोर्डिङ पास तथा सेल्फ चेकिङ आफै गर्न पनि सक्ने तिवारीले जानकारी दिए। यो प्रविधिबाट हाम्रो जस्तो सानो विमानस्थलमा सबै एयरलाइन्सलाई काउन्टर दिन ठाउँ अभाव हुन समस्या निराकरण हुने तिवारी बताउँछन्।
नयाँ प्रविधिको प्रयोगबाट साझा काउन्टर सेवा, सेल्फ बोर्डिङ तथा ब्यागेज चेक गर्न सकिने तिवारीको दाबी छ। नयाँ प्रविधिको प्रयोगको प्रयोगबाट ताकेको भन्दा बढी तौल भएको ब्यागेज स्वत रिजेक्ट गर्ने तिवारी बताउँछन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।