काठमाडाैं- म्यानमार दूतावासका सबै कर्मचारीलाई अमेरिकाले फिर्ता बाेलाएकाे छ। आन्दाेलनले उग्ररुप लिएपछि उनीहरुलाई बुधबार फिर्ता बाेलाइएकाे हाे।
म्यानमारकाे सेनाले गत फ्रेबुअरी १ मा सत्ता हत्याएपछि अमेरिकाले कडा कदम चाल्दै आएकाे छ। यसअघि पनि म्यानमारको सेनालाई अमेरिकी बैंकमा रहेको १ अर्ब डलर निकाल्न प्रतिबन्ध लगाएको थियाे। समाचार संस्था रोयटर्सका अनुसार म्यानमारको सेनाले फेडेरल रिजर्भ बैंक अफ न्यूयोर्कमा रहेको १ अर्ब डलर निकाल्न खोजेको थियो।
अहिले म्यानमारमाथि अमेरिका, क्यानडा, युरोपियन युनियन र बेलायतले प्रतिबन्ध घोषणा गरेका छन्। पछिल्लो समय जुन्ता सरकारले 'कू'विरूद्ध भइरहेको शान्तिपूर्ण प्रदर्शनमा दमन बढाएको छ। बुधवार पनि प्रजातन्त्र पक्षधरले मैनबत्ती बालेर प्रदर्शन गरेका थिए।
बुधवार बिहान देशको दक्षिणी तनिन्थरी क्षेत्रमा सुरक्षा बलले चलाएकाे गाेली लागेर कम्तिमा ४ प्रदर्शनकारीकाे मृत्यु भएकाे छ। यसका साथै अन्य ४ प्रदर्शनकारीकाे पनि विभिन्न क्षेत्रमा मृत्यु भएकाे म्यानमार नाउ न्यूजले जनाएकाे छ।
याेसँगै म्यानमारमा जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ५२० नाघेकाे छ। यता, राजधानी रंगनुसहित देशका ठूला सहरमा सेनाले गस्ती बढाएकाे छ। यद्यपि, सेनाको कदमको विरोध गर्दै दैनिक हजारौँ आन्दोलनकारीले प्रदर्शन गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।