काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षण नमिले विदेश जान नपाइने गरी नयाँ व्यवस्था जारी गरिएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै बायोमेट्रिक हाजिरी परीक्षण नमिले अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाट फर्काइने जनाएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानुपूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, अभिमुखीकरण तालिम दिने संस्थाले नक्कली हाजिर गराएको र त्यसको प्रत्यक्ष असार कामदारमा परेको भन्दै विभागले नयाँ व्यवस्था जारी गरेको हो।
‘अभिमुखीकरण तालिम दिने संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसारको तालिम दिई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत् उपलब्ध गराउने व्यवस्था छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर, पछिल्लो समयमा अनिवार्य रूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने/दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको/लिएको कारणले यस विभागको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा गराउँदा आधिकारिक नभएको देखिएको छ।’
विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बञ्चित हुनसक्ने भन्दै नयाँ व्यवस्था जारी गरेको हो। यसैगरी, विभागले बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुने समेत सचेत गराएको छ।
‘गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानुन तथा अन्य आवश्यक कानुन सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयबाट समेत बञ्चित हुन जान्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः यसरी वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानुपूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने गरेको वा नक्कली बायोमेट्रिक लिई गएमा र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा कामदारहरूलाई २०७८ वैशाख १ गतेदेखि श्रम कक्षबाट नै फर्काइनेछ।’
e
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।