काठमाडौं- संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले मजदुरको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन माग गरेको छ। जेटियुसिसीले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसमक्ष उक्त माग राखेको हो।
अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारीहरू र जेटियुसिसीका अध्यक्ष जगत सिम्खडा नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार महासंघ सचिवालयमा छलफल भएको थियो। उक्त छलफलमा जेटियुसिसीका प्रतिनिधिहरुले न्यूनतम पारिश्रमिक कार्यान्वयन माग राखेका हुन्।
जेटियुसिसीको तर्फबाट महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रहसहित ज्ञापनपत्र बुझाइएको थियो।
जेटियुसिसीको प्रतिनिधिमण्डललाई महासंघको सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटललगायत केही उद्योगहरू अझै तङ्ग्रिन नसकेको बताए। श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशील रहेको उनले स्पष्ट पारे।
अध्यक्ष गोल्छाले लकडाउनको समयमा महासंघले जेटियुसिसीसँग निकटमा रहेर काम गरेको प्रसंग उल्लेख गरे। मुलुकभित्र श्रम सम्बन्धलाई थप मजबुद बनाउन महासंघ र जेटियुसिसीबीचको सहकार्यमा उनले जोड दिए।
अध्यक्ष गोल्छाले अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको बनाउने र करिब २३ लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ महासंघले 'भिजन पेपर'मा काम गरिरहेको जानकारी दिए। महासंघको यस लक्ष्यलाई पूरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग महासंघले खोजेको उनले बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेको उक्त छलफलमा कोभिड महामारीका कारण मुलुकको उद्योग व्यवसायलगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठ्यारो समयमा श्रमिक, कामदार, कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।