काठमाडौं- अमेरिकमा बढिरहेको एसियाली मूलका नागरिकमाथिको आक्रमणप्रति वाइडेन प्रशासनले चिन्ता व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेन आक्रमणप्रति रुष्ट हुँदै घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्।
‘हामी एसिया–अमेरिकी नागरिकमाथि भएको बढ्दो हिंसाप्रति चुप लागेर बस्न सक्दैनौं। हिंसाविरूद्ध थप कदम चाल्न म आग्रह गर्दछु। न्याय विभागलाई यसमा तत्काल योजना निर्माण गर्न निर्देशन दिन्छु। एशियाली मूलका मानिसहरुविरूद्ध हिंसा र विदेशी मानिसहरुलाई बेवास्ता गर्नु गलत हो, यो बन्द हुनुपर्छ,’ उनले ट्वीट गर्दै भनेका छन्,
उनले न्याय विभाग अन्तर्गत ‘कोभिड–१९ इक्विटी टास्क फोर्स’ पनि गठन गरेका छन्। यो टास्क फोर्सले विदेशी मूलको कारण कसैविरूद्ध भेदभाव गरिएको छैन। उपराष्ट्रपति कमला ह्यारिसले पनि हिंसाका घटनामा चिन्ता व्यक्त गरेकी छिन्।
‘कसैलाई हानि पुर्याउनु भनेको आफूलाई चोट पुर्याउनु सरह हो। म र हाम्रो राष्ट्रपति यो विषयमा चुप रहनेछैनौं। हामी एसियाली मूलका नागरिकमाथि भएको हिंसा रोक्न आवश्यक कदम चाल्नेछौं,’ उनले भनेकी छिन्।
ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले राष्ट्रपति वाइडेनले एसियाली–अमेरिकी जनतासँग भेट गर्ने बताएकी छिन्। ‘उहाँले छिट्टै एसियाली–अमेरिकी नागरिकसँग भेट गर्नुहुन्छ। भेटमा यस समस्यालाई समाधान गर्न कसरी सकारात्मक भूमिका खेल्न सकिन्छ भनेर सुझाव लिइनेछ,’ उनले भनेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।