काठमाडौं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोट घटनाका थप दुई अभियुक्त पक्राउ परेका छन्। ८ जना घाइते हुनेगरी भएको उक्त बिस्फोटमा प्रदेश २ प्रहरी कार्यालयले सिरहाको सुखिपुर नगरपालिका-५ का २५ वर्षीय रामसिरझन यादव र सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरेको हो।
यसअघि उक्त घटनामा संलग्न भएको आरोपमा सिरहाको सुखिपुर-८ का आर के भनिने रामकुमार यादवलाई सिरहाको भगवानपुर गाउँपालिकाको ठाडीबाट पक्राउ गरिएकाे थियाे।
उनकै बयानका आधारमा थप दुई जनालाई प्रदेश २ र जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले सोमबार सुखिपुर–५ बाट पक्राउ गरेको हो। पक्राउ परेका रामरिझन यसअघि २०७४ चैत ९ गते विकास ज्वेलर्स लहानमा भएको बम बिस्फोट मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका थिए।
२०७५ साउन ३१ गते विराटनगर महानगरपालिका कार्यालयमा भएको बम बिस्फोट घटनामा समेत पक्राउ परेर ३५०० हजार धराैटीमा छुटेका व्यक्ति भएको पाइएको छ।
त्यस्तै, गिरी विगत ५ वर्षदेखि तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)मा संलग्न रहेर चन्दा असुली गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ। मालपोत कार्यालयमा प्रेसरकुकर बम राख्न जाँदा रामरिझनले लगाएको रातो ज्याकेट, चप्पल र टिसर्ट प्रहरीले बरामद गरेको छ। रामरिझनले कम्मरमा भिरेको अवस्थामा पेस्तोल त्यसमा लाग्ने २ राउण्ड गोली पनि बरामद भएको छ।
गिरीको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको छ। चैत १ गते मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो। उक्त बिस्फोटमा ८ जना घाइते भएका थिए। बिस्फोटको जिम्मा तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले लिएको थियो। यो समूहका संयोजक जयकृष्ण गोइत हुन्।
उनकै निर्देशनमा बम बिस्फोट गराइएको पक्राउ परेकाहरुले बयान दिएको प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहले बताए। मालपोत कार्यालयमा बम बिस्फोट गराउनका लागि गोइतको निर्देशनमा रामकुमार यादवले उक्त बम रामरिझनलाई दिएका थिए। उनै रामरिझन र अभिमन्यु मिलेर बम बिस्फोट गराएको पाइएको छ।
सम्बन्धित समाचार :
सिरहा विस्फोट : गोइतले दुई साताअघि नै दिएका थिए संकेत
लहान मालपोतमा बम विस्फोट गराएकाे आराेपमा एकजना पक्राउ
लहान मालपोतमा विस्फोट : ‘गणतान्त्रिक मुक्ति मोर्चा’को पर्चा भेटियो
लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।