काठमाडाैं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएकाे आराेपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–१८ बस्ने बलराम मण्डल रहेका छन्।
मण्डललाई साेमबार सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए।
उनलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर अनुसन्धान सुरु गरिएको छ। आइतबार लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयका कर्मचारी बस्ने कोठा नजिकै कुकर बम विस्फोट गराइएकाे थियाे। विस्फाेटमा परी ७ जना घाइते भएका छन्।
घटनामा गम्भीर घाइते भएका सिरहा धनगढीमाइ नगरपालिका–४ का ३० वर्षीय दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियाे।
घटनामा घाइते भएका विष्णुपुर गाउँपालिका–३ का मालपोत कार्यालयका नायव सुब्बा ३८ वर्षीय शिव कुमार यादवलाई नोबेलमा रिफर गरिएको छ। अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।