काठमाडाैं- चरमपन्थी संगठन तालिवानीले अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता नगए पुन: सशस्त्र विद्रोह सुरु गर्ने चेतावनी दिएको छ। तालिवानले शुक्रबार एक विज्ञप्तिमा जारी गर्दै मे १ सम्ममा सेना फिर्ता नभए सशस्त्र विद्रोह गर्ने चेतावनी दिएको हो।
गतवर्ष दोहामा भएको सम्झौता अनुसार अमेरिकाले आगामी मे १ मा सबै सैनिक फिर्ता गर्नुपर्ने छ। तर, सैनिक फिर्ता हुने मिति नजिकिँदै गर्दा अमेरिकाले कुनै ठोस कदम चालेको छैन।
‘तोकिएको मितिसम्ममा विदेशी सेना फिर्ता नगए संघर्षको मैदानमा उत्रिन बाध्य हुनेछौं। हाम्रो देशलाई स्वतन्त्र पार्न विदेशी सेनाविरूद्ध जिहाद र सशस्त्र संघर्ष गर्न तयार छौं,’ विज्ञप्तिमा भनिएको छ।
यता अमेरिकी राष्ट्रपति जो वाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा गरेको सम्झौता अन्तर्गत अमेरिकाले अफगानिस्तानमा रहेका सबै २५ हजार सेना फिर्ता लिने प्रतिज्ञा गरेका थिए।
तर, बिहीबार ह्वाइटहाउसमा गरिएको पत्रकार सम्मेलनमा वाइडेनले मे १ सम्म अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता गर्न नसकिन बताएका थिए। ‘त्यहाँ लामो समय हाम्रो सैनिक राख्नुपर्छ भन्ने मेरो मनसाय होइन,’ वाइडेनले भने, ‘हामी फिर्ता बोलाउँछौं। तर अहिले नै बोलाउन मुस्किल छ।’
गतवर्ष दोहामा भएको सम्झौता तालिवानीले हिंसा त्यागेर अलकायदा जस्ता समूहलाई अफगानिस्तानमा अड्डाका रूपमा प्रयोग गर्न रोक्ने प्रतिबद्धता जनाएको थियो। जसबाट अमेरिका र त्यसका सहयोगी राष्ट्रहरुमाथि लक्षित आक्रमण रोक्न र अफगानी सरकारसँग शान्ति वार्ता गर्ने सम्झौता भएको थियो।
यद्यपि हिंसाले दक्षिण एसियाली मुलुक अफगानिस्तानलाई पिरोल्न छाडेको छैन। पछिल्लो समय अफगानिस्तानमा पत्रकार र सरकारी कर्मचारीलाई लक्षित गरेर आक्रमण भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।