काठमाडाैं- नयाँ कृषि कानुनविरूद्ध आन्दोलनरत भारतीय किसान युनियनलगायतका संगठनहरूले शुक्रबार भारत बन्द गरेका छन्। उत्तर भारतको रेल ट्र्याकमा बसेर उनीहरुले प्रदर्शन गरेका हुन्।
गत वर्षदेखि हजारौं किसानहरू राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा शिविरमा सरकारविरुद्ध आन्दाेलन गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लागू गरेको नयाँ कृषि कानुनले बिचाैलियालाई पाेस्ने काम गरेकाे भन्दै उक्त कानुन फिर्ता लिन किसानहरुले माग गरिरहेका छन्।
किसानहरुले १२ घण्टा राष्ट्रव्यापी बन्दको आह्वान गरेका थिए। उनीहरुले मोदी सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए। प्रदर्शनकारीहरुमध्ये केहीले नाचगान गरेर सरकारविरुद्ध नारासमेत लगाए। उनीहरुले भनेका थिए- कालो कानुन फिर्ता लिनुहोस्।
चार महिना अघि किसानहरू आफ्नाे गुनासा लिएर दिल्लीको सिमानामा आएका थिए। तर, सरकारले किसानको कुरा सुनेकाे छैन। 'जबसम्म हाम्राे कुरा सरकारले सन्दैन विरोध जारी रहनेछ,' युनियन नेता गुरिन्दर सिंह पन्नूले भने।
उत्तरी राज्य हरियाणा र पञ्जावमा प्रदर्शनकारीहरूले ३ सय २२ स्थानमा रेल ट्र्याक अवरुद्ध गरेका थिए। उक्त रुट भएर गुड्ने कम्तिमा चार यात्री रेल रद्द गरिएकाे थियाे।
'करिब ३० वटा रेल छुट्न पाएनन्। यता मालवाहक रेल आवागमन पनि प्रभावित भएको थियो। अहिले करिब २० वटा मालवाहक रेल ट्र्याकमै रहेकाे छ,' भारतीय रेलका प्रवक्ता दीपक कुमारले रोयटर्सलाई भने।
दिल्लीको गाजिपुरमा भएकाे प्रदर्शनले उत्तर प्रदेश राज्यसँग जोड्ने राजमार्ग अवरुद्ध भएकाे थियाे।
यता प्रहरीले हिंसात्मक घटना हुन नदिन कडा सुरक्षा दिएकाे थियाे। सरकार र किसान नेताहरुबीच धेरै चरणमा वार्ता भएका छन् तर, निष्कर्षमा पुग्न सकेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।