काठमाडौं- यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको तेल खानीमा ड्रोन आक्रमण गरेकाे दाबी गरेका छन्। आक्रमणबाट एक तेल ट्याङ्करमा आगो लागेको बताइएको छ।
हुथी विद्रोहीका अनुसार साउदीमा रहेको विश्वकै ठूलो तेल कम्पनी अरामकोकाको प्लान्ट र साथै दम्माम तथा नाजरानमा रहेको सैन्य अड्डाहरुमा आक्रमण गरिएको हो।
साउदी नेतृत्वमा गठबन्धन सेनाले भने ड्रोन आक्रमण बिफल भएको दाबी गरेका छन्। ‘हुथी विद्रोहीले यमनको छेउछाउको नाजरान तथा जाजान सहरका विश्वविद्यालयहरूलाई लक्षित गरेर ६ वटा ड्रोन आक्रमण गर्ने प्रयास गरेका थिए। तर, हामीले उक्त आक्रमण बिफल पार्यौं,’ सेनाले भनेको छ।
यद्यपि साउदीको उर्जा मन्त्रालयले जाजानको पेट्रोलियम वितरण स्टेशनमा रहेको तेल ट्याङ्करमा आगो लागेको जनाएको छ तर उक्त आगो कसरी लाग्यो भनेर खुलाइएको छैन।
हुथी विद्रोहीले यमनको राजधानी सानासहित अधिकांश क्षेत्र कब्जा गरेका छन्। ती क्षेत्रहरुमा साउदी नेतृत्वको गठबन्धन सेना लडिरहेको छ।
हुथी विद्रोहीहरुले प्रायः यमन नजिकै साउदी सीमा क्षेत्रहरुलाई लक्षित गरेर आक्रमण गरिरहेका हुन्छ। सन् २०१९ सेप्टेम्बरमा अरामको तेल बोटहरूमा ड्रोन आक्रमण गरिएको थियो। यो आक्रमण हुथी विद्रोहीले गरेको दाबी गरेका छन्। यता साउदीले भने इरानलाई दोष दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।