काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। हकप्रद सेयर जारी गर्न लागेको सूचना लुकाएपछि नेप्सेले किसान लघुवित्तलाई स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको हो।
चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभासम्बन्धी विशेष प्रस्तावमा १ बराबर १ (१ः१) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो। तर उक्त प्रस्तावलाई संशोधन गर्दै हकप्रद जारी गर्ने प्रस्ताव हटाएको थियो।
यसरी हकप्रद सेयर जारी गर्न लागेकोबारे अनावश्यक हल्ला फैलाएर कम्पनीले आफ्नो सेयर मूल्य बढाउन खोजेको भन्दै नेप्सेले किसान लघुवित्तलाई स्पष्टीकरण सोधेको हो।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सम्बन्धित कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेलाई जानकारी गराइसक्नुपर्छ। तर किसान लघुवित्तको संचालक समितिले हकप्रद जारी गर्न लागेको निर्णय नेप्सेलाई जानकारी नगराएपछि मंगलबारदेखि उक्त कम्पनीको कारोबार रोकिएको हो।
हकप्रद जारी गर्ने सम्बन्धी निर्णय लुकाएको विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।