काठमाडौं- सूचना सम्प्रेषणमा निकै सम्वेदनशील मानिने पुँजीबजारमा ‘प्राविधिक समस्या’को कारण भन्दै पटक–पटक वास्तविक भन्दा फरक सूचना प्रवाह हुन थालेका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट र अनलाइन कारोबारका लागि उपलब्ध सर्भरमा प्राविधिक समस्या देखिँदा नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) नै नखुल्ने, कारोबारसम्बन्धी विवरण फरक र ढिलो देखिने, विवरण नै नदेखिने तथा खरिद बिक्रीको अर्डर आफैं पटक–पटक दोहोरिने जस्ता समस्या देखिने गरेका छन।
सोमबार नेप्सेको साइटमा यस्तै प्राविधिक समस्या दोहोरियो। एउटै कम्पनीको विवरण दुई पटक देखाइएको थियो। सबै सूचक तथा उपसूचक, सेयरको खरिद बिक्री मूल्य, कारोबार रकम, बजार पुँजीकरण लगायत विवरणहरु दुरुस्त रहेपनि कम्पनीको विवरणहरु भने दोहोरो देखिएका थिए।
यस विषयमा जिज्ञासा राख्दा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सामान्य प्राविधिक समस्या देखिएको हुनसक्ने बताए। सोमबारको कारोबार सकिएर बजार बन्द हुनै लाग्दा यस्तो समस्या देखिएको थियो भने बजार बन्द भएको लामो समयसम्म पनि नेप्सेको साइटमा दोहोरो विवरण देखिइरहेको थियो।
करिब १ महिना अघि पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा गम्भीर प्राविधिक समस्या देखियो। १ खर्ब माथिको बजार पुँजीकरण भएको कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य शतप्रतिशतले घटेको थियो भने पुँजीकरण शून्य भएको थियो।
यस बारेमा नेप्सेले आफ्नो वेबसाइट निर्माण तथा कारोबारको ‘प्लेटफर्म’ उपलब्ध गराइरहेको निजी कम्पनी ‘अ योमरी कम्पनी’ (वाइको) लाई स्पष्टिकरणसमेत सोधेको थियो। त्यस्तै, गत साउनमा नेप्सेको साइट नै ह्याक भएको थियो। त्यो बेला ह्याकरहरुले विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा नेप्सेका विवरण तान्ने प्रयास गरेका थिए।
साइट ह्याकरको कब्जामा जान थालेपछि कारोबारसम्बन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने र टिएमएस नखुल्ने जस्ता समस्या देखिएका थिए।
नेप्सेको वेबसाइट निर्माण र योसँग सम्बन्धित प्राविधिक कामहरु वाइकोले गर्दै आएको छ। नेप्सेले प्राविधिक समस्याका कारण वेबसाइटका विवरणहरु फरक देखिने गरेको जनाएपनि वाइकोले भने यस विषयमा केही कुरा खुलाउन चाहेन।
सोमबार नेपाल लाइभले वाइको कम्पनीका एक प्रतिनिधिलाई ‘तपाईंहरुले बनाएको नेप्सेको वेबसाइटमा बारम्बार किन समस्या दोहोरिन्छ? भनेर राखेको प्रश्नमा उनले यस विषयमा आफ्नो कम्पनीले बोल्न नचाहेको बताए। केही कुरा बुझ्नपर्ने भए नेप्सेसँगै जानकारी लिन भन्दै उनी पन्छिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।