काठमाडौं–नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्र)ले लण्डन स्टक एक्सचेन्जमा बन्ड जारी गर्न लागेको विषय साँचाे भएको र पूँजी बजारमा असर पर्ने गरी कुनै बजार हल्ला नफैलाएको जनाएको छ।
निफ्राले विदेशमा बन्ड जारी गर्न लागेको विषय सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत बुधबार स्पष्टीकरण सोधेको थियो। ‘नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने विषय कति सत्य हो? नेप्सेले निफ्रालाई सोधको स्पष्टीकरणमा भनिएको थियो।
त्यसको जवाफमा निफ्राले ‘३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै हिस्सा रहेको र बैंकले आफ्नो वार्षिक प्रतिवेदन तथा साधारण सेयर निस्कासका लागि तयार पारिएको विवरणपत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको’ भन्दै पत्र पठाएको छ।
त्यस्तै नेपाल स्टक एक्सचेन्जमा निफ्राको सेयर सूचीकरण हुनु अगावै बन्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको पनि निफ्राले जनाएको छ। ‘यसलाई अन्तिम रुप दिन चाहिने थप सहमति तथा स्वीकृति लिँदै यथासक्य छिटो तोकिएको ब्याजदरमा बन्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेन्जमा सूचीकृत गराउने गरी बैंक अघि बढेको स्पष्ट पार्दछौं,’ निफ्राले पठाएको जवाफमा भनिएको छ।
त्यस्तै निफ्रालाई सोधिएको स्पष्टीकरणमा ‘उक्त कम्पनीले रणनीतिक साझेदार भित्राउने विषयमा कोसँग कस्तो छलफल भएको हो? र कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारीमा नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो’ भन्ने विषय पनि उल्लेख छ।
त्यसको जवाफमा निफ्राले आफ्नो सार्वजनिक निस्कासनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।