फाइल तस्बिर
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएकोप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री ओलीमा नैतिकता नभएको आरोप लगाइन्। ‘बोली चिप्लिएकै आधारमा एक मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभयो। प्रधानमन्त्रीले नैतिकता देखाउनु नपर्ने? अझै जिताहा जस्तो।’
तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले बंगालदेशमा चिकित्सा शिक्षा लिइरहेका छात्राको विषयमा गरेको टिप्पणीप्रति आलोचना भएपछि राजीनामा दिएका थिए। छात्रालाई यौन विषयसँग जोडेपछि उनी विवादित बनेका थिए।
प्रधानमन्त्री ओलीलाई पार्टीले दलको नेता बनाएको तानाशाह बनाउन नभएको सांसद भुसालले टिप्पणी गरिन्। पार्टी बैठक बोलाउन आग्रह गरे पनि बैठक नबोलाउने तथा बैठक भए आउँदै नआउने प्रवृत्ति ओलीमा रहेको उनले बताइन्।
लोकतन्त्र र गणतन्त्र समाप्त पार्न प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकोसमेत उनले उल्लेख गरिन्। प्रधानमन्त्री ओलीले दुईतिहाइ सिट ल्याउने दाबीको प्रतिवाद गर्दै भुसालले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले बहुमत ल्याउन नसक्ने ठोकुवा गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।