काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले शान्ति प्रक्रिया ध्वस्त पार्ने काममा प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार लागिपरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभा बैठकका पूर्ववक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई जवाफ फर्काउँदै उनले भने, 'यही हलमा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति सम्झौता गर्दा अँध्यारो र मलिन अनुहार बनाएर बस्नुभएको मान्छे शान्ति प्रक्रिया ध्वस्त पार्न लाग्नुभएको छ।'
उनले थपे, 'समय आयो भने त्यो पार्टीको नाम र अनुहार भनौंला। पुरानो फोटो हेर्दा थाहा भइहाल्छ नि, कसको अनुहार मलिन थियो!'
कांग्रेस शान्ति प्रक्रिया पूरा गर्ने कार्यमा गम्भीर भएको बताउँदै उनले यस्तो प्रतिउत्तर दिएका हुन्।
त्यसअघि बोल्दै मन्त्री ज्ञवालीले फरक राष्ट्रको मागसहित सशस्त्र संघर्षमा लागेका र एकीकृत जनक्रान्तिका नाममा हिंसात्मक विद्रोह गरिरहेका सिके राउत र नेत्रविक्रम चन्द विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको बताएका थिए।
यसक्रममा भनेका थिए, 'संविधान नमान्ने र अस्तित्वलाई चुनौती दिनेलाई मुलधारमा ल्याएक छौं। यो ठूलो उपलब्धी हो। सकारात्मक कुरा सुन्न र देख्न नचाहने एउटा निश्चित व्यक्तिको चाहना पूरा भएन भने त्यसलाई प्रतिगमन भन्ने भाष्य छ। देशको प्रगति नै अग्रगमन हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।