काठमाडौं- सन् २०२१ को पहिलो २ महिना जनवरी र फेब्रुअरीमा झन्डै २ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। सन् २०२० को मार्चदेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान ७ महिनासम्म बन्द ठप्पप्राय: थियो।
अहिले पनि अन्तर्राष्ट्रिय उडानको संख्या खासै बढ्न सकेको छैन। कोभिड-१९ महामारी अगाडि दैनिक ८० वटासम्म हुने उडान तथा अवरतण अहिले २० वटासम्म पनि पुग्न सकेको छैन। भएका उडानको अकुपेन्सी पनि ७० देखि ८० प्रतिशको हाराहारीमा मात्रै रहेका छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयका अनुसार सन् २०२१ को जनवरी र फेब्रुअरी १ हजार ७ सय ५ वटा उडान तथा अवरतणबाट कुल १ लाख ९५ हजार १ सय ८१ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।
त्यसमा ८ सय ८० वटा उडान तथा अवतरणमार्फत् जनवरीमा ९६ हजार ८ सय ४० जना यात्रुले हवाई यात्रा गरेको थियो भने फेब्रुअरीमा ८ सय २५ वटा उडान तथा अवतरणमार्फत् ९८ हजार ३ सय ४१ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेको छन्।
यस अवधिमा नेपालबाट बाहिर जानेको संख्या ८६ हजार ७ सय ९६ जना रहेका छन्। नेपाल भित्रिनेको संख्या भने १ लाख ८ हजार ३ सय ८५ जना रहेका छन्।
बढी यात्रु बोक्नेमा नेपाल एयरलाइन्स
सन् २०२० को पहिलो दुई महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ बढी यात्रु बोक्ने एयरलाइन्समा नेपाल एयरलाइन्स परेको छ।
नेपाल एयरलाइन्सले २ महिनामा ४७ हजार ६ सय ३४ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। यो कुल यात्रु संख्याको आधारमा २४ दशमलव ४० हो।
दोस्रो बढी यात्रु बोक्ने एयरलाइन्स कम्पनी कतार एयरवेज छ। कतारले २ महिनामा ३७ हजार ५४ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गरेको छ। यो संख्या कुल हवाईको आधारमा १८ दशमल ९६ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।