काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका पदाधिकारीहरू आज बस्ने राष्ट्रिय कार्यकारिणी समितिको बैठकअघि आन्तरिक छलफलमा जुटेका छन्।
जसपाका एक नेताका अनुसार अहिले पदाधिकारीहरूबीच छलफल चलिरहेको छ। जसपाका पाँचै जना पदाधिकारीहरु महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई छलफलमा सहभागी छन्।
जसपाले आज राष्ट्रिय कार्यकारिणी समितिको बैठक बोलाएको हो। बैठक बिहान ११ बजे तुल्सिलाल अमात्य प्रतिष्ठान, ललितपुरमा बस्ने जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोख्रेलले जानकारी दिए।
जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन्। जसमध्ये तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन्।
बैठकले पार्टीको आगामी रणनीति तथा सत्तासमीकरणका विषयमा टुंगो लगाउने बताइएको छ। साथै बैठकले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको एकतापछिका विभिन्न बाँकी कामसमेत टुंग्याउने एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।