काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक बस्दै छ। बैठक बिहान ११ बजे तुल्सिलाल अमात्य प्रतिष्ठान, ललितपुरमा बस्ने जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोख्रेलले जानकारी दिए।
जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन्। जसमध्ये तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन्।
बैठकले पार्टीको आगामी रणनीति तथा सत्तासमीकरणका विषयमा टुंगो लगाउने बताइएको छ। साथै बैठकले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको एकतापछिका विभिन्न बाँकी काम समेत टुंग्याउने एक नेताले बताए।
वैशाखमा एकीकरण गरी जसपा बने पनि हालसम्म एकीकृत दलको नेता र उपनेता छनोटसमेत गर्न सकेको छैन। बैठकले पार्टीको विधानबारे समेत निर्णय गर्ने बताइएको छ।
सरकारमा जाने विषयमा दुई धार भएपछि पदाधिकारी बैठकले निर्णय गर्न नसकेपछि कार्यकारिणी समितिको बैठक बोलाएको हो। यसअघि सम्पन्न पदाधिकारी बैठकमा सरकारमा जाने विषयमा मत बाझिएको थियो।
महन्थ ठाकुरलगायत नेताहरु केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्छ भन्ने विषयमा सकारात्मक छन्। तर, बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओली सरकारको विकल्प खोजेर कांग्रेस–माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्छ भन्नेमा छन्।
सत्ता समीकरणका लागि जसपा प्रतिनिधिसभाको निर्णायक दल हो। केपी शर्मा ओली नेतृत्वको वर्तमान नेकपा एमालेको सरकारलाई समर्थन गरेपनि सरकारले निरन्तरता पाउने अवस्था छ र कांग्रेससँगै माओवादी केन्द्रलाई समर्थन गर्दा पनि नयाँ सरकार गठन हुने अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।