काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का रहेको जग्गा फुकुवा गरि पास गराउने भनि घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका मालपोत कार्यालयका बाराका प्रमुख र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुलाई केही समय पहिले ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
आयोगको टोलीले मालपोत कार्यालय सिमरा बाराका नासु मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई घुससहित पक्राउ गरेको थियो। उनीहरुले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी घुस लिएका आयोगले जनाएको छ।
उनीहरूले जग्गा फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने भनि रकम माग गरेको सूचनाको आधारमा अख्तियारले टोलीले स्टिङ अप्रेसन गरि पक्राउ गरेको थियो।
अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित दुवै जनालाई नियन्त्रण लिएकाले दोषी ठहर हुनुपर्ने जिकीर गर्दै विशेष अदालतमा बुधबार अख्तियारले मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा मालपोत कार्यालय, बाराका नायब सुब्बा खनालले सेवाग्राहीको जग्गा रजिष्ट्रेसन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँबानेश्वर काठमाडौंमा रोक्का रहेको भनेको पाइएको आयोगले जनाएको छ। त्यसका लागि खर्च गर्नुपर्छ भनी सेवाग्राहीसँग घुस/रिसवतबापत रकम मोलमोलाई गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने मनसाय देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
मलपोत कार्यालयका प्रमुख खनालले लेखनदास बडालमार्फत् रकम लिन लगाएको अख्तियारको दाबी छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत भएकाले कैद र जरिवाना हुनुपर्ने आरोपपत्रमा उल्लेख छ। अख्तियारले दुवैसँग ६ लाख विगो कायम गरि सोही बराबरको जरिवाना असुल हुनुपर्ने दाबी गरेको छ। उनीहरुलाई बिगो बराबर कैद र सजाय पनि गर्न आरोपपत्रमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।