काठमाडौं- नेपाल धितोपत्र बोर्डले ४२ करोड ५६ लाख रूपैयाँमा काठमाडौंको कोटेश्वरमा ७ रोपनी जग्गा किनेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणसँग बोर्डले सरकारी मूल्यांकनभन्दा प्रतिआना २ लाख रूपैयाँ बढी तिरेर जग्गा किनेको हो।
कोटेश्वर बहुमुखी क्याम्पस नजिकैको यो जग्गाको सरकारी मूल्यांकनअनुसार प्रतिआना ३६ लाख रूपैयाँ छ। बोर्डले प्रति आना ३८ लाख रूपैयाँका दरले ११२ आना अर्थात् ७ रोपनी जग्गा किनेको हो।
'हामीले सम्झौताअनुसारको पैसा तिरेका छौँ, अब जग्गा पास भएर हाम्रो नाममा आउला,' धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने।
काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी मूल्यांकन र प्रचलित बजार मूल्य भन्दै दुईवटा दर प्रस्ताव गरेको थियो। प्राधिकरणले बजार मूल्य प्रतिआना १ करोड ३० लाख रूपैयाँ रहेको भन्दै त्यसैअनुसार कारोबार गर्ने गरी मूल्य प्रस्ताव गरेको हो।
तर दुवै सरकारी निकायबीचको आपासी छलफलमा मूल्य तय भएको छ। प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले दुवै सरकारी निकाय भएकाले आपसी छलफलबाट मूल्य निर्धारण गरिएको जानकारी दिए।
बोर्ड अहिले खुमलटारमा भाडाको भवनमा बसिरहेको छ। कोटेश्वरमा बोर्डले अब नयाँ भवन बनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।