काठमाडौं–सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ प्रणालीबाट प्राथमिक सेयर जारी गर्ने तयारी गरिरहेको छ। ७ जना लगानीकर्ताले २०६७ सालमा स्थापना गरेको यो कम्पनीले व्यावसायिक रुपमा २०७१ सालबाट क्लिंकर र २०७३ सालबाट सिमेन्ट उत्पादन गरिरहेको छ।
हाल चुक्ता पूँजी ३ अर्ब ४० करोड रहेको कम्पनीले साे पुँजी ४ अर्ब पुर्याउन सर्वसाधारणका लागि ६० लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्न लागेको छ। कम्पनीले आफ्नो चुक्ता पूँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्तामध्ये संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीयलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर जारी गर्नेछ।
धितोपत्र बोर्डले प्राथमिक सेयर जारी गर्न लागु गर्न लागेको नयाँ प्रणाली ‘बुक बिल्डिङ’ प्रणालीबाट मूल्य निर्धारण गरी यो कम्पनीले सेयर जारी गर्नेछ। यो प्रणालीबाट आइपिओ जारी गर्दा कम्पनीको प्रतिसेयर मूल्य संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुनेछ।
कम्पनीले आइपिओ जारी गर्न बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ। संस्थागत लगानीकर्ताले प्रतिशेयर ७५० रुपैयाँ तोकेकोमा सर्वसाधारणले त्यसको १० प्रतिशत घटाई अर्थात ६७५ मा पाउनेछन्। त्यस्तै कम्पनीले आफ्नो हालसम्मको रिजर्भबाट १० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएकाले सेयर खरिदको ३ महिनाभित्रै प्रतिसेयर १ सय रुपैयाँ बराबर प्रतिफल हुने देखिन्छ।
यसरी सर्वसाधारण लगानीकर्ताको बिक्री मूल्य ५७५ रुपैयाँमात्रै पर्ने देखिन्छ। यो कम्पनीले पछिल्लो ३ वर्ष अवधिमा वार्षिक औसत मुनाफा १ अर्ब ४ करोड रुपैयाँ बराबर रहेको दावी गरेको छ।
गत माघ मसान्तसम्म कम्पनीको रिजर्भ २ अर्ब ३१ करोड रुपैयाँ बराबर छ। आइपिओबाट आएको रकममध्ये ४० प्रतिशतले कम्पनीको ऋण तिर्ने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने कम्पनीको योजना छ।
सर्वोत्तम सिमेन्टमा ५ सय बढी कर्मचारी तथा कामदार आवद्ध रहेको र ६ सय भन्दा बढी डिलरहरहेको दावी गरेको छ। यो कम्पनीको उत्पादन क्षमता प्रतिदिन क्लिंकर ३ हजार मेट्रिक टन र सिमेन्ट ६० हजार बोरा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।