काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ७ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.८ र कर्जा १४.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.८ प्रतिशतले बढेको हाे।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.४ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.४ प्रतिशतले बढेको छ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फत प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकको माघ मसान्तसम्मको तथ्यांक हेर्दा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४, विकास बैंकहरुको कर्जा प्रवाह १७.७ र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.४ प्रतिशतले बढेको छ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ २५.५, औद्योगिक उत्पादन क्षेत्रतर्फ १०.१, निर्माण क्षेत्रतर्फ ७.६ , यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ७.९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ११.२ र सेवा उद्योग १३.१ प्रतिशतले बढेको छ।
त्यस्तै आवधिक कर्जा १३.२, ओभरड्राफ्ट कर्जा १४.८ , डिमान्ड तथा चालु पुँजी कर्जा १६.८, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३, मार्जिन प्रकृति कर्जा ५३.५ र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ ले बढेको छ भनेहायर पर्चेज कर्जा ५.९ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।