काठमाडौं- होमस्टे सञ्चालन गर्दै आएका व्यवसायीहरुले देशभरका सातवटै प्रदेशमा शीघ्र रुपमा वैज्ञानिक होमस्टे सञ्चालन कार्यविधि जारी गर्न नेपाल सरकारसमक्ष माग गर्ने भएका छन्। सुर्खेतमा भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीले उक्त निर्णय गरेको हो।
उक्त कार्यशाला गोष्ठीले सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ। व्यवसायीहरुले होमस्टेको ब्राण्डिङ, वर्गीकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहितका लागि आवश्यक मापदण्ड तय गर्ने निर्णयसमेत गरेका छन्।
यसैगरी होमस्टेका नाममा फैलिएको विकृति विसंगतिलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागि निरन्तर अनुगमन गर्न र सम्पूर्ण सरोकारवाला निकायहरुसँग समन्वयका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसँग माग गर्ने निर्णय गोष्ठीबाट पारित गरेका छन्।
कोभिड-१९ पछि सञ्चालन हुन नसकेका ग्रामीण पर्यटनको अग्रणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटकका लागि सेवा खुल्ला गर्ने व्यवसायीहरुको निर्णय छ।
व्यपवसायीहरुले डिजिटल मार्केटिङको माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणका लागि आवश्यक कार्यहरु अगाडि बढाउने र देशभर सञ्चालन हुने होमस्टेको क्षमता अभिवृद्धि तालिमलाई एकरुपताका साथ सञ्चालन गर्न पहल गर्ने भएका छन्।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले होमस्टे सेवा गाउँ पर्यटनको आधार स्तम्भको रुपमा सावित भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।