काठमाडौं- आइतबार ५१.२३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार पनि दोहोरो अंकको गिरावट देखिएको छ। आज परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ अंकमा कायम भएको छ।
आज २१२ वटा कम्पनीको ९६ लाख चार हजार कित्ता सेयर ५२ हजार ३०९ पटक खरिद-बिक्री हुँदा चार अर्ब २४ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। २६४१ अंकसम्म पुगेको नेप्से परिसूचक पछिल्लो समय ओरालो लागिरहेको छ।
आज व्यापार, होटल तथा पर्यटन, उत्पादन र लगानी समूह क्रमशः ५५.१, ९०.९३, १०.२ र ०.५३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक १९२.६२ र जीवन बिमा समूहको उपसूचक १२१.०६ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह १७.४१, विकास बैंक समूह ११, जलविद्युत समूह ०.७८, वित्त समूह ७.२१, लघुवित्त समूह २५.२३ र अन्य समूह ३८.४३ अंकले घटेको छ।
आज कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) अग्रस्थानमा देखिएको छ। निफ्राको ४३ करोड ६२ लाख रुपैयाँ बराबरको ८ लाख ७ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ। त्यस्तै चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले प्रतिकित्ता ६.२५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।