काठमाडौं–अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै नागरिकले कोभिड–१९ को भ्याक्सिन लगाएमा अमेरिकी स्वतन्त्रता दिवसका अवसरमा जुलाई ४ का दिन सभा गर्न सकिने बताएका छन्।
बाइडेनले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो प्राइम टाइम भाषणमा उक्त कुरा गरेका हुन्।
राज्यका सबै वयस्कका लागि १ मेसम्म खोप अभियान सुरु गर्न बाइडेनले आदेश दिएका छन्। हाल उमेर र स्वास्थ्य स्थितिको आधारमा खोपलाई प्राथमिकता दिइएको छ।
‘यदि हामी सबैले खोप लगाउँछौं भने ४ जुलाईसम्म तपाईंका लागि एउटा राम्रो मौका छ,’ उनले भने, ‘आफ्नो परिवार र साथीभाइलाई भेट्न सक्नुहुन्छ र स्वतन्त्रता दिवस मनाउन सक्नुहुन्छ।’
सबैले खोप लगाएमा ४ जुलाईलाई देशको स्वतन्त्रताको उत्सवसँगै भाइरसबाट स्वतन्त्र भएको उत्सवका रुपमा पनि मनाउन सकिने उनको भनाइ छ।
यसैबीच, खोप अभियानलाई विस्तार गर्दै भ्याक्सिनेशन सेन्टरको संख्या बढाइँदै छ। अमेरिकामा अब भेटेनरी र दाँतका डाक्टरलाई पनि खोप लगाउन अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। साथै खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहमा मोबाइल युनिटसमेत परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।