काठमाडाैं– म्यानमारको सेनाले अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सु चीमाथि भ्रष्टाचारको आरोप लगाएको छ। नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)काे सरकारमा रहँदा उनले भ्रष्टाचार गरेको सेनाले आरोप लगाएको हो।
ब्रिगेडियर जनरल जा मिन तुनले बिहीबार पत्रकार सम्मेलनका क्रममा सरकारमा रहँदा अवैध तरिकाले सु चीले केही सुन र ६ लाख अमेरिकी डलर (६ करोडभन्दा रुपैयाँ बढी) स्वीकार गरेको बताए। म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।
‘सेनाले चुनावी अनियमितताबारे आफ्नो रिपोर्ट पठाएको थियो तर म्यानमारका राष्ट्रपतिले चुनाव आयोगसँग यसबारे कुनै पनि कारवाही नगर्ने बताएको थियो,’ तुनले भने। यद्यपि, उनले कुनै पनि प्रकारको प्रमाण भने पेश गरेनन् ।
नाेभेम्बर २०२० को चुनावमा एनएलडीले बहुमत हासिल गरेको थियो। तर निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले फेब्रुअरी १ मा म्यान्मारमा विद्रोह गर्यो।
सेनाले एनएलडीको प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई पनि खारेज गरेर सत्ता कब्जामा लिएको थियो। सेनाले एकवर्ष पछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताएको छ।
यसका साथै सेनाले नेतृ आङ साङ सु ची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नजरबन्दमा राखेको थियो। सैन्य शासकले सु चीलाई पक्राउ गरेपछि कहाँ राखिएको छ भनेर जानकारी दिएको छैन ।
त्यसयता म्यान्मारमा सैन्य शासनविरुद्ध आन्दोलन जारी छ। जारी आन्दोलनमा मृत्यु हुनेको संख्या ६७ भन्दा बढी पुगेको छ। बिहीबार मात्रै थप ७ जनाकाे मृत्यु भएकाे छ। उनीहरुमाथि सेना तथा प्रहरीले गोली चलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।