मस्काे– अमेरिकी सामाजिक सञ्जाल कम्पनी ट्वीटरलाई रुसले कारबाही गरेको गरेकाे छ। सरकारले प्रतिबन्ध लगाएको कन्टेन्ट आफ्नो वेबसाइटबाट हटाउन नमानेपछि रुसले आफ्नाे मुलुकमा ट्वीटरको गति सुस्त बनाएकाे हाे।
रुसको मिडियामाथि निगरानी राख्ने संस्थाका अनुसार ट्वीटरलाई करिब तीन हजार पोस्ट हटाउन आग्रह गरेको थियो। जसमा लागूऔषध र पोर्नोग्राफीसँग सम्बन्धित कन्टेन्ट थिए। यद्यपि ट्वीटरले भने यी पोस्ट हटाउन अस्वीकार गरेपछि कारबाहीमा उत्रिन परेकाे जनाइएकाे छ।
ट्वीटरले प्रतिबन्धित सामग्री हटाउन अस्वीकार गर्दा नाबालिगलाई आत्महत्याको लागि उक्साएको र बालबालिकाको अश्लील तस्वीरलाई बढावा दिएको रुसी अधिकारीहरुले आराेप लगाएका छन्।
ट्वीटरमा फोटो तथा भिडियो पोस्ट गर्न समस्या भइरहेको रुसका ट्वीटर प्रयोगकर्ताहरुले बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार रुसमा स्मार्टफोनका उपकरणहरुमा ट्वीटरको गति घटाइएको छ भने करिब आधा डेस्कटपमा पनि ट्वीटरको गति घटाइएको छ।
रुसमा राष्ट्रपतिका विरोधीहरुले अत्यधिक मात्रामा ट्वीटरको प्रयोग गर्छन्। रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नी र उनका समर्थकहरुले उल्लेख्य मात्रामा ट्वीटरको प्रयोग गर्छन्।
गत जनवरीमा नाभाल्नीलाई पक्राउ गरेपछि रुसमा आन्दोलन निस्किएसँगै रुसले ट्वीटरलाई युवाहरुलाई प्रदर्शनमा सहभागी हुन गरिएको आह्वान नहटाए जरीवाना लगाउने चेतावनी दिएको थियो।
यता ट्वीटरले रुसकाे आराेपलाई खण्डन गरेकाे छ। रुसले आफ्नो वेबसाइट सुस्त पारेको भन्दै रुसी संस्थाको कारबाहीबाट गम्भीर ध्यानाकर्षण भएको कम्पनीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।