काठमाडौं–मेक्सिकोको संसदले गाँजामा लगाएको प्रतिबन्ध फुकुवा गर्नेसम्बन्धी विधेयक पास गरेको छ। विधेयक पास भएसँगै अब मेक्सिकोमा गाँजाका प्रयोग वैध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गाँजा खुला गरेपछि मेक्सिको गाँजाको लागि अब विश्वकै ठूलो बजार बन्ने भएको छ ।
अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोग खुलाउने विधेयक पास गरेको हो। मेक्सिकोको हाउस अफ कंग्रेसले पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन।
नयाँ विधेयकअनुसार मेक्सिकोमा मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजा उपयोग गर्न पाइनेछ।
गाँजामाथिको प्रतिबन्ध फुकाउने राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओर्बाडोरको प्रशासनले ल्याएको उक्त विधेयकलाई तल्लो सदनले अत्यधिक बहुमतले पारित गरेको हो।
तल्लो सदनबाट पारित भएको उक्त विधेयक अब माथिल्लो सदन सिनेटले पनि पारित गरे मेक्सिकोको कानुनको रूप लिनेछ र लागु हुनेछ। माथिल्लो सिनेटमा पनि सत्तारूढ पार्टीको बहुमत भएकाले विधेयक सहजै पारित हुने अवस्थामा रहेको सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि दक्षिण अमेरिकी मुलुक उरुग्वेले गाँजाको उत्पादन र वितरणलाई वैध बनाएको थियो। अर्जेन्टिना, चिली, कोलम्बिया र पेरूले पनि मेडिकल प्रयोगका लागि गाँजालाई वैध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।