काठमाडाैं–चिनियाँ राष्ट्रपति सी चिङफिङले देशका लागि अप्ठेरो परिस्थिति सिर्जना भएको बताएका छन्। भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन (क्वाड)ले चिनियाँ विस्तारवादी रवैयाविरुद्ध काम गर्ने जनाएको केही समयपछि नै सीले उक्त भनाइ राखेका हुन्।
सीले मंगलबार सेनाहरुलाई तयारी अवस्थामा रहन समेत आग्रह गरे।
‘हाम्रो देशको वर्तमान सुरक्षा अवस्था धेरै हदसम्म अस्थिर र अनिश्चित छ’ उनले भने, ‘सम्पूर्ण सेनाले क्षमता निर्माण र लडाई तत्परताका लागि समन्वय गर्नुपर्छ। सेना कुनै पनि समयमा विभिन्न जटिल र गाह्रो परिस्थितिहरूको जवाफ दिन तयार हुनुपर्दछ।’
चीनले रुससँग सैन्य सहकार्य गर्ने विषयमा चर्चा चलिरहँदा सीले उच्च–स्तरको रणनीतिक निवारण र एक संयुक्त लडाई प्रणालीको आवश्यकता भएको पनि बताए। उनले सेनालाई प्रविधि सम्पन्न बनाउनु पर्नेमा पनि जोड दिए।
आगामी शुक्रबार हुन गइरहेको क्वाडको बैठकमा अघि जापानका प्रधानमन्त्री योसिहिदे सुगा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ४० मिनेट लामो टेलिफोन वार्ता भएको थियो। उक्त वार्तमा अमेरिका र अस्ट्रेलियासँग मिलेर चिनियाँ विस्तारवादी रवैयाको विरुद्धमा काम गर्ने सहमति गरेको जापानको विदेश मन्त्रालयले जानकारी दिएको हो।
मंगलबारको वार्तामा जापानी प्रधानमन्त्रीले दक्षिण चीन सागरमा चिनियाँ विस्तारवादी रवैया, हङकङ र सिनजियाङमा चिनियाँ सरकारले मानवअधिकारको उल्लंघन गरेको विषयमा चिन्ता व्यक्त गरेका थिए।
चीनको सैन्य र आर्थिक शक्ति बढिरहेको अवस्थामा त्यसमा अंकुश लगाउन क्वाडको स्थापना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।