काठमाडाैं– कम्बोडियाका प्रधानमन्त्री दम्पतीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। प्रधानमन्त्री सम्देच हुन सेन र उनकी श्रीमतीले भारतमा बनेको कोभिसिल्ड खोप बुधबार लगाएका हुन्।
‘प्रधानमन्त्री हुन सेनले भारतमा बनेको खोप लगाउनु भएको छ, उहाँसँगै उच्च सरकारी अधिकारीहरूले पनि खोप लगाउनु भएको छ,’ कम्बोडियास्थित भारतीय दूतावासले भनेको छ।
समुदायस्तरमा कोरोना भाइरसको महामारी फैलिँदै गएकाले कम्बोडियामा अनिश्चितकालका लागि खेल गतिविधिहरू बन्द गरिएको छ। राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरू नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ।
जीम, खेल क्लबहरू, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षणलगायतका कुनै पनि गतिविधि गर्न नपाइने वक्तव्यमा उल्लेख गरिएको छ।
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्रसमेत बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।