काठमाडाैं– भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन (क्वाड)ले भारतलाई कोरोना भाइरसविरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गर्ने भएकाे छ। नोभाभ्याक्स र जोन्सन एण्ड जोन्सनको खोप उत्पादन गरिरहेका भारतीय कम्पनीहरुलाई सहयोग प्रदान गरिन लागिएकाे हाे।
आगामी शुक्रबार हुन गइरहेको क्वाडको बैठकमा भारतलाई वित्तीय सहयोग दिने घोषणा हुन सक्ने अमेरिकाका एक शीर्ष अधिकारीले बताएका छन्।
काेरोना खोपको अभाव कम गर्ने, खोप कार्यक्रम बढाउने र कोरोना महामारी अन्त्यको लागि यो योजना अघि सारिएको हाे, उनले भनेका छन्। अमेरिकाले चीनको खोप कूटनीतिलाई चुनौती दिन क्वाडका मुलुकले खोपमा लगानी बढाउनु आवश्यक रहेको अमेरिकाले बताएको छ।
चिनियाँ विस्तारवादी रवैयाविरुद्ध काम गर्ने सहमति
क्वाडले चिनियाँ विस्तारवादी रवैयाविरुद्ध काम गर्ने सहमति गरेको छ। जापानका प्रधानमन्त्री योसिहिदे सुगा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार भएकाे ४० मिनेट लामो टेलिफोन वार्तामा अमेरिका र अस्ट्रेलियासँग मिलेर चिनियाँ विस्तारवादी रवैयाको विरुद्धमा काम गर्ने सहमति गरेको जापानको विदेशमन्त्रालयले जानकारी दिएकाे हाे।
मंगलबारको वार्तामा जापानी प्रधानमन्त्रीले दक्षिण चीन सागरमा चिनियाँ विस्तारवादी रवैया, हङकङ र सिनजियाङमा चिनियाँ सरकारले मानवअधिकारको उल्लंघन गरेको विषयमा चिन्ता व्यक्त गरेका थिए। भारत र जापानले चीनविरुद्ध एक भएर अगाडि बढ्ने विषयमा छलफल गरेपछि यस कार्यले चीन रुष्ट बन्ने निश्चित भएको छ।
जापानी प्रधानमन्त्रीसँगको छलफलपछि मोदीले ट्विटमा भनेका छन्,‘भारत र जापानबीच विशेष रणनीतिक र वैश्विक साझेदारीको प्रगतिको विषयमा प्रधानमन्त्री योसिहिदे सुगासँग अर्थपूर्ण कुराकानी भएको छ। हामीले समकालीन वैश्विक चुनौतिहरूका बारे विचारहरू साटासाट गरेका छौं र इन्डो–प्यासिफिक क्षेत्रमा सहयोग बढाउन सहमत भएका छौं।’
चीनको सैन्य र आर्थिक शक्ति बढिरहेको अवस्थामा त्यसमा अंकुश लगाउन क्वाडको स्थापना गरिएको हो। यसै हप्ताको शुक्रबार अमेरिका, अस्ट्रेलिया, जापान र भारत आवद्ध क्वाड समूहको भिडिओ सम्मेलन हुँदैछ।
सो भिडिओ सम्मेलनमा समेत चीनको खतराको विषयमा चर्चा हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।