काठमाडाैं– चीन र रुसले चन्द्रमाबारे अध्ययन गर्नकाे लागि ‘लुनार स्पेस स्टेसन’ बनाउने घोषणा गरेका छन्। रुसको मानिससहितको अन्तरिक्ष विमानले उडान भरेको ६० औं वर्षगाँठ आउँदै गरेको अवस्थामा चीनसँग यस्तो सम्झौता गरेको हो।
रुसको स्पेस एजेन्सी रोसकोसमोसले चीनको राष्ट्रिय स्पेस एड्मिनिस्ट्रेसनसँग चन्द्रमाको सतह वा कक्ष वा दुवैमा अध्ययनका लागि अन्तरिक्षमा अनुसन्धान केन्द्र खोल्ने सहमति भएको बताएको छ। दुवै मुलुकका अन्तरिक्ष केन्द्रले उक्त स्पेस स्टेसन अन्य मुलुकका लागि पनि उपलब्ध गराइने बताएका छन्।
‘चीन र रुसले संयुक्तरुपमा निर्माण गर्ने स्पेस स्टेसनबाट चन्द्रमाको विषयमा थप धेरै अनुसन्धानका लागि सहयोग पुग्नेछ,’ चिनियाँ विश्लेषक चेन लानले बीबीसीसँगको कुराकानी भने,‘यो ठूलो सम्झौता हाे, अन्तरिक्षको साझेदारीको प्रोजेक्ट भएकाले यो निकै महत्वपूर्ण छ।’
पछिल्लो समय चीनले आफ्नो पहुँच अन्तरिक्षमा पनि विस्तारका लागि विभिन्न योजना ल्याइरहेको छ। गत डिसेम्बरमा चिनियाँ अन्तरिक्ष विमानले चट्टान र माटो ल्याएको थियो।
अन्तरिक्ष अध्ययनमा अग्रणी भूमिका खेलेको रुसलाई भने अमेरिका र चीनले हालैका दिनमा ओझेलमा पारेका छन्। गत वर्ष स्पेसएक्सको सफलतापछि रुसले इन्टरन्याश्नल स्पेस स्टेशनमा यात्रु ओसार्ने एकाधिकार गुमाएको थियो।
अमेरिकाले सन् २०२४ मा चन्द्रमामा फर्किने योजना बनाएको छ। योजनाअनुसार भएमा सन् १९७२ पछि पहिलो पटक एक अमेरिकी पुरुष र एक महिलाले चन्द्रमाको सतहमा पाइला टेक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।