काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो व्यवस्थापन जिम्मा पुनः ५ वर्षका लागि अहिले काम गरिरहेको कम्पनीलाई दिएको छ। कार्गो व्यवस्थापनका लागि नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीसँग पुनः सम्झौता भएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले बताए।
यसका साथै कार्गोबाट भएको आम्दानीको ६५ प्रतिशत रकम प्राधिकरणले पाउने उनले बताए। कार्गो व्यवस्थापनबाट नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीले भने ३५ प्रतिशत रकम पाउने छ।
कार्गोको गुणस्तर विकासका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्नु पर्ने विषय उठान भएपनि विविध कारणले पुनः सरकारी कम्पनीसँग नै सम्झौता गर्न परेको पोखरेलले जानकारी दिए।
‘कार्गो व्यवस्थापनको विषमा वास्तवमै विदेशी कम्पनीकाे संलग्नता हुनेगरी निजी क्षेत्रलाई दिन सकेको अवस्थामा राम्रो हुन्छ। उनीहरुले आधुनिक प्रविधि बमोजिम विश्व स्तरको कार्गो टर्मिनलको रुपमा विकास गर्थे,’ पोखरेलले भने, ‘ त्यो प्रयास पनि भएको थियो। तर, विविध कारणले गर्दा त्यो हुन सकेन।’
आधुनिक तवरबाट कार्गो व्यवस्थापनका लागि नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीले प्राधिकरणमा स्ट्यान्डर्ड प्रोसिडियर तथा प्लान पेस गरको र सोही अनुसार हुने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।