काठमाडौं– यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.५८ अंकले घटेको छ। आज परिसूचक ०.८६ प्रतिशतले घटेर २४८५.०९ अंकमा कायम भएको छ।
आइतबार २११ वटा कम्पनीको १ करोड १७ लाख ७८ हजार कित्ता सेयर ५३ हजार ९७० पटक खरिद–बिक्री हुँदा ५ अर्ब ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्ला हप्ताहरुको तुलनामा आज कारोबार रकम कम देखिएको छ। केहि समय अघि साढे १० अर्ब सम्मको ऐतिहासिक कारोबार गरेको नेप्सेमा पछिल्लो समय भने कारोबार रकम घट्दो क्रममा छ।
आज होटल तथा पर्यटन र जलविद्युत समूहको उपसूचक क्रमशः ५०.१५ र १८.३४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ३०६.३२ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह १२.४१, व्यापार समूह १८१.४८, विकास बैंक समूह ५.५६, वित्त समूह ३.२६, लगानी समूह १.७५ र निर्जीबन बिमा समूह ८५.५१ अंकले घटेको छ।
कारोबार रकमका आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) पहिलो नम्बरमा देखिएको छ। निफ्राको ४२ करोड ७८ लाख रुपैयाँ बराबरको ७ लाख ७९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।
चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६० रुपैयाँका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नेसनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९ रुपैयाँका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।