काठमाडाैं–जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि पुनः थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रवार टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि थप गरिएको घोषणा गरेका हुन्।
संकटकाल आगामी मार्च २१ सम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उनको भनाइ छ ।
टोकियोमा गतजनवरीमा संकटकालको घोषणा भएयता दोस्रो पटक म्याद थपिएको हो। स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए।
राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उनले बताए। कोरोना महामारी व्यवस्थापनका लागि गठित ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा संकटकाल लम्ब्याउने निर्णय भएको बताइएको छ।
संकटकाल लागू गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको बताइएको छ। आधारभूत सतर्कता अपनाई बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने बताइएको छ। भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।