काठमाडाैं– सामाजिक सञ्जाल युट्युबले म्यानमारका पाँच टेलिभिजन च्यानललाई आफ्नो प्लेटफर्मबाट हटाएको छ। म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएपछि उत्पन्न भएको संकटको बीचमा युट्युबले पाँच टेलिभिजन च्यानललाई हटाएको हो।
‘हामीले कम्युनिटी गाइडलाइन्स तथा सान्दर्भिक कानून पालना नगरेका कारण केही च्यानलहरु र उनीहरुको भिडियो आफ्नो प्लेटफर्मबाट हटाएका छौं,’ युट्युबकी एक प्रवक्ताले बताइन्।
उनका अनुसार अहिले युट्युबबाट हटाइएका च्यानलमा एमआरटीभीका साथै सेनाले सञ्चालन गर्दै आएको म्यावाडी मिडिया, एमडब्ल्यूडी भेराइटी र एमडब्ल्यूडी म्यानमार छन्।
म्यानमारमा गत बुधबार भएको प्रदर्शनमा प्रहरी दमनमा ३८ जनाको मृत्यु भएको थियो। अहिलेसम्म म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा ५० भन्दा बढीको मृत्यु भइसकेको छ।
अहिले पनि सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई दमन गर्न खोजिरहेका छन् र कतिपय क्षेत्रमा गोली चलाइरहेका छन्।
यसअघि सामाजिक सञ्जाल फेसबुकले पनि म्यानमारको सेनासँग सम्बन्धित सबै पेजहरुमा रोक लगाउने निर्णय गरेको थियो।फेसबुकले म्यान्मार सेनाले चलाएको एमआरटीभी र म्यावड्डीलाईपनि प्रतिबन्ध लगाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बिहीबार म्यानमारको सेनाले टिकटकको प्रयोग गर्दै प्रदर्शनकारीहरुलाई ज्यान मार्ने धम्की दिएको उल्लेख गरेको थियो। म्यानमारको सेनाले फेसबुकमा प्रतिबन्ध लागेसँगै अन्य प्लेटफर्महरुको प्रयोग गर्न थालेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।