काठमाडौं– नेपाली फिल्मनगरीकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय अभिनयभन्दा अध्ययन र राजनीतिमा बढी व्यस्त छिन्।
१४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा 'सन्तान' फिल्ममा अभिनय गरेपछि यही क्षेत्रमा रमाउन थालेपछि उनले औपचारिक अध्ययनलाई अगाडि बढाउन सकिनन्। पढ्ने इच्छालाई करिब ३० वर्षपछि पूरा गर्दै करिश्मा यतिबेला काठमाडौंको मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा १० मा पढिरहेकी छिन्।
मंगलबार अभिनेता शिव श्रेष्ठको निर्माणाधीन फिल्म 'एउटा यस्तो प्रेम कहानी' को पत्रकार सम्मेलनमा उनी विनाेद मानन्धर र छोरी कवितासहित उपस्थित थिइन्। कविताले शिवको यही फिल्मबाट डेब्यू गर्दै छिन्।
पत्रकार सम्मेलनमा बोल्दै करिश्माले छोरीलाई आफ्नै होम प्रोडक्सनको फिल्मबाट डेब्यू गराउने सोच भए पनि शिवको आग्रहलाई नकार्न नसकेको बताउँदै फिल्म बनाउने रहर पूरा गरेरै छाड्ने बताइन्। उनले अहिले आफू कक्षा १० मा एसइई परीक्षाप्रति केन्द्रित रहेको भन्दै परीक्षापछि फिल्म बनाउने सुनाइन्।
'छोरीलाई अाफ्नै हाेम प्राेडक्सनकाे फिल्ममा अभिनय गराउन नपाए पनि म फिल्म चाहिँ अवश्य बनाउँछु, तर एसइईपछि', उनले योजना सुनाउँदै भनिन्, 'त्यसैले यसका लागि केही महिना अझै कुर्नुपर्नेछ।'

विद्यालयमा सहपाठीहरुसँग फोटो खिचेर रमाउँदै नायिका करिष्मा
नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग प्रमुख समेत रहेकी करिश्माले औपचारिक अध्ययन अगाडि बढाउँदै पिएचडी समेत गर्ने योजना रहेको विभिन्न अन्तवार्तामा बताउँदै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।