काठमाडाैं– भारत सरकारले नेपाल र भुटानसँगका सीमामा १२ नयाँ बटालियन स्थापना गर्न तयारी गरेकाे छ। याेसँगै नेपाल र भुटानसँगकाे सीमामा थप १३ हजार भारतीय सीमा सशस्त्र बल (एसएसबी) फोर्स परिचालन हुने भएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार सन् २०१७ मा चीन, भारत र भुटानको त्रिदेशीय थलो दोक्लममा ७० दिन लामो तनावपछि भारतले बटालियन खडा गर्ने निधो गरेको हो।
पटक-पटक तनाव सिर्जना हुने भारत, भुटान र तिब्बतको त्रिदेशीय क्षेत्रमा समेत सम्भावित सुरक्षा चुनैतिको सामना गर्न सुरक्षाकर्मीहरु परिचालन गर्न लागिएकाे एसएसबीका महानिर्देशक राजेश चन्द्रले जनाएका छन्।
‘एसएसबीको लागि नयाँ बटालियन र फौज स्थापना गर्न सरकारले सहयोग पुर्याएको छ। नयाँ जनशक्तिले सीमा सुरक्षा अझ सुदृढ पार्छ भन्ने कुरा सुनिश्चित गर्छ,’ उनले भने।
उनका अनुसार नेपालसँगको १,७५१ किलोमिटर सिमाना र भुटानसँगको ६९९ किलोमिटर खुला सिमानामा फोर्स थप्ने तयारी छ।
जसअनुसार एसएसबीले नेपालसँगको सिमानामा थप ५४८ पोस्ट खडा गर्ने भएको छ। भारत– नेपाल सीमामा थप चार एकीकृत चेक पोस्ट (आइसीपी) पनि खडा गरिने छ। जोगबनी र रक्सौल नाकामा यसअघि दुई चेक पोस्ट सञ्चालनमा छन्।
एसएसबीका महानिर्देशक चन्द्रका अनुसार १२ बटालियन चरणबद्ध रुपमा स्थापना हुनेछन्। यी सीमा बटालियन युनिटले सीमा पोस्टबीचको दूरीलाई घटाउने, ब्यापार बलियो बनाउने र सीमापारको सुरक्षा जोखिमलाई रोक्ने उद्देश्य लिइएको उनले बताएका छन्।
गृहमन्त्री अमित शाहले खडा गर्ने भनिएका नयाँ बटालियन र थप्ने भनिएको फोर्सबारे अध्ययन गतवर्ष नै गरिसकेको समाचारमा उल्लेख छ।
नयाँ पोस्टहरु थप्ने तयारी भैरहँदा सरकारले अनुमति दिएपछि झनै सजिलो भएको चन्द्र बताउँछन्। ‘हामी गृह मन्त्रालयप्रति आभारी छौं। हामी प्राप्त नयाँ आदेश कार्यान्वयनको प्रक्रियामा छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।