काठमाडाैं– म्यानमारमा जुन्ता सरकारविरुद्ध अन्दाेलनमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले गरेकाे दमनकाे तस्वीर खिच्दै गर्दा एसोसिएटेड प्रेस (एपी) का पत्रकार थाइन ज पक्राउ परेका छन्।
लोकतन्त्र समर्थकहरूलाई सुरक्षाकर्मीहरूले गरेको दमनको तस्वीर खिच्दै गर्दा सुरक्षाकर्मीहरूले घेरेर उनलाई हतकडी लगाएको हाे।
एपीका अनुसार थाइनसहित अन्य पाँच सञ्चारकर्मीहरूविरुद्ध सार्वजनिक व्यवस्था कानून उल्लंघन गरेको आरोप सेनाले लगाएकाे छ। त्यसका लागि तीन वर्षसम्मको जेल सजायको व्यवस्था रहेकाे समाचारमा उल्लेख गरिएकाे छ।
भिडियोमा थाइन सडकको छेउमा बसेर शनिवार तस्वीर खिचिरहेका थिए। सुरक्षाकर्मीहरूले यांगोनमा विरोधकर्ताहरूको एक समूहतर्फ दौडेको बेलामा उनले तस्वीर खिचेका थिए।
प्रहरीहरू उनीतिर दौडन्छन् र उनी भाग्न खोज्छन्। कम्तीमा सातजनाले उनलाई घेर्छन् र हतकडी लगाउँछन्।
गत १ फेब्रुअरीमा ‘सैन्य कू’पछि लोकतन्त्र समर्थकहरूले दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले लगातार दमन गरिरहेका छन्।
‘सैन्य कू’पछि सडक आन्दोलनमा समाचार बनाउन खटिएका पत्रकारमाथि हस्तक्षेप गर्ने सुरक्षाकर्मीको यो प्रयास पहिलो होइन।
शुक्रबार मात्रै दोस्रो सबैभन्दा ठूलो सहरमा म्यान्डेलीमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्न गएका एक जापानी पत्रकारलाई पक्राउ गरिएकाे थियाे। जापानको क्योडो समाचार एजेन्सीका अनुसार उनलाई हिरासतमा लिएर केही समयपछि छाडिएको थियाे।
साेही दिन राजधानी नेपिटो पुगेका पत्रकारहरुलाई पनि पक्राउ गर्ने प्रयास गरिएकाे थियाे।
केही दिनअघि मात्रै मिचिनामा कार्यरत विभिन्न सञ्चार संस्थाका पत्रकारलाई प्रहरीले आक्रमण गरेको ऐरावती दैनिक पत्रिकाले जनाएको छ।
उनीहरुलाई तस्वीर क्यामेरामा कैद गर्दैगर्दा सुरक्षाकर्मीले पक्राउ गर्न खोजेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।