काठमाडौं- बदलिँदो समयसँगै फरक नेपाली पुस्ताहरुबीच उत्तिकै लोकप्रिय रहँदै आएको ब्याण्ड नेपथ्यले अब फेरि सांगीतिक माहोललाई निरन्तरता दिने भएको छ। कोरोना महामारीका कारण नेपथ्यले एक वर्षदेखि कुनै कार्यक्रम गरेको थिए। अब भने यसलाई निरन्तरता दिइने भएको छ।
भूकम्पका कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफूलाई प्रस्तुत गरेको थियो। भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्याण्डको अन्तिम प्रस्तुति बन्न पुगेको थियो।
अब नेपथ्यले आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ श्रोता/दर्शकसामु प्रस्तुत गर्दैछ। सबैले सँधै सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो- ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ।’
परिस्थितिसँग लडेर बाँच्नु नै मानव जीवनको यथार्थ हो। यो यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना यस गीतले बोकेको छ। यो गीत नेपथ्यले दुई दशकअघि उसको प्रसिद्ध एल्बम ‘रेशम’मा समेटेको थियो।
पोखराका संगीतकर्मी श्यामसुङ तामाङले यस गीतलाई तयार पारेका हुन्। ‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गर्थ्याैं,’ गायक अमृत गुरुङ सम्झन्छन्, ‘असाध्यै मन परेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं।’
यो गीत नयाँ पुस्ताका श्रोताहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम रहेको नेपथ्यले बताएको छ।
यस गीतको अडियो-भिडियो यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दशकअघि जोरपाटीस्थित् खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो।
पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।