काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)काे जहाज हेभी ल्यान्डिङ प्रकरणमा थप २ जना पाइलटलाई उडानमा प्रतिबन्ध लगाइएकाे छ। यसअघि निगमले वाइडबडी ए३३० ‘मकालु’ उडान गर्दै हेभी ल्यान्डिङ गरेर सूचना नदिने २ जना पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको थियाे।
अहिले थप २ जनालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएकाे हाे। प्राधिकरण स्राेतमा अनुसार अपरेशन विभागमा प्रमुख दीपु जुहर्चन र सुरक्षा शाखा प्रमुख राजु राैनियारकाे उडानमा पनि प्रतिबन्ध लगाएकाे हाे। याेसँग ४ पाइलटलाई उडानमा प्रतिबन्ध लगाइएकाे छ।
निगमले पाइलटद्वय सुनील श्रेष्ठ र महेशमान डंगोलले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको जहाज हेभी ल्यान्डिङ भएको थियो। तर, पाइलटले नियमित फ्लाइट डाटा विश्लेषण कार्यक्रममा जानकारी दिएका थिएनन्। मासिक रुपमा एयरबसले पठाउने म्यानुयल रिपोर्टमा जहाज हेभी ल्यान्डिङ भएको विवरण पठाएपछि निगमले उक्त विषय छानबिन थालेकाे छ। उनका अनुसार निगमले जहाज हेभी ल्यान्डिङ भएको विषय ९ फेब्रुअरीमा थाह पाएको थियो। थाहा पाउने बित्तिकै किन जानकारी नगराएको भन्दै पाइलटहरुलाई सोध्दा उनीहरुले जवाफ नदिएपछि अनुसन्धानका लागि उनीहरुलाई उडानमा प्रतिबन्ध लगाइएकाे थियाे।
अहिले निगमले उक्त घटनाका छानबिनका लागि वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ। अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजित आन्तरिक सुरक्षा जाँचबुझ गर्न भट्टराईको संयोजकत्वमा बनाएको समितिमा क्याप्टेन विजय लामा, मनिष कुमार साह र डम्बर रावत सदस्य छन्।
यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि याे विषयमा छानबिन गर्न पूर्व सुरक्षा महाशाखामा प्रमुख भेषराज सुवेदीकाे संयाेजकत्वमा कमिठी गठन गरेकाे छ। हवाई सुरक्षालाई दृष्टिगत गरी छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड अनुरुप थप कारबाही अगाडी बढाइने समेत निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।