काठमाडाैं– सन् २०२३ मा चन्द्रमाको चक्कर काट्ने तयारीमा रहेका जापानी धनाढ्य युसाकु मिजावाले नयाँ आवेदन मागेका छन्।
एक वर्ष अगाडि मात्र ४५ वर्षका युसाकुले चन्द्रममा जान ‘महिला जीवनसाथी’ खोजेका थिए। उनले आफ्नो जीवनसाथीलाई चन्द्रमाको यात्रामा साथै लैजाने जनाएका थिए।
तर पछि उनले सो योजनालाई रद्द गरेका थिए। मेजावा फेसन व्यवसायी, स्टारशीप रकेटमार्फत चन्द्रमा घुम्न जाने पहिलो यात्रु बन्दै छन्।
एलन मस्कको कम्पनी स्पेस एक्सले चन्द्र भ्रमणको व्यवसायिक सुरुवात गर्न लागेको छ। यसमा उनको नाम समावेश छ।
यसअघि यस्तो यात्रामा वैज्ञानिकहरू मात्रै जाने गरेका थिए। युसाकुको चन्द्रमा यात्रा सन् १९७२ पछिको पहिलो मानव यात्रा हुनेछ।
त्यसैका लागि उनले हालै चन्द्रमामा आफूसँगै जाने ८ जना साथी खोजेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उनले अनलाइनमार्फत एक सार्वजनिक अपिल जारी गर्दै सो यात्राका लागि विशेष साथीको खोजीमा रहेको बताएका छन्।
‘विश्वभरबाट ८ जनालाई मसँगै चन्द्रमामा जाने मिसनमा सामेल हुन आमन्त्रित गर्दैछु,’ उनले ट्विटरमा भनेका छन्, ‘मैले सिट बुक गरिसकेको छु। यो निजी भ्रमण हो।’
उनले आफूले विशेष कला भएका मानिसलाई सित्तैमा चन्द्र भ्रमणमा लाने बताएका छन्।
चर्चामा आउन बेलाबखत यस किसिमका स्टन्ट गरिरहने उनले यसअघि पनि आफ्नो ट्विट रिट्विट गर्नेलाई करोडौं बाँड्ने घोषणा गरेका थिए।
चन्द्रमाको यात्रा गर्ने ‘पहिलो प्राइभेट यात्री’का रुपमा नाम आएपछि युसाकुको चर्चा झनै चुलिएको छ।
स्पेसएक्स कम्पनीमार्फत चन्द्रमा यात्रा गर्न लागेका उनले त्यसको टिकटमा कति खर्चिए भन्ने खुलाइएको छैन। कम्पनीका सञ्चालक एलोन मस्कले यतिमात्रै भनेका थिए, ‘युसाकुले धेरै रकम खर्च गरेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।