काठमाडौं– नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट हुने भुक्तानीको सीमा बढाएको छ। विद्युतीय माध्यमबाट हुने नगद लेनदेन बढ्दै जाँदा यसलाई अझ सहज बनाउन राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा सम्बन्धी व्यवस्था संशोधन गरेको हो।
राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाइएको हो।
अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख रुपैयाँ र इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ।
यता कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागु नहुने राष्ट्र बैंकले जनाएको छ।
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने बताइएको छ।
यस्तै, विद्युत, दूरसञ्चार, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन। शिक्षण संस्था, स्वास्थ्य संस्था (अस्पताल/नर्सिङ होम र डाइगोनस्टिक सेन्टर), हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारमा पनि सीमा लगाइएको छैन।
त्यसैगरी, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन। राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो।
राष्ट्र बैंकले एजेन्ट वा सब–एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना एक लाख रुपैयाँ सीमा तोकेको छ। बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा वा एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना पाँच लाख रुपैयाँको सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, राष्ट्र बैंकले वालेटबाट वालेटबाहकको बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा तोकेको छैन।
मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने छन्।
राष्ट्र बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट)को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ३० लाख रुपैयाँ कायम गरेको छ। इन्टरनेट बैंकिङ (खातामा ट्रान्सफर) को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।